मंगलबार पनि हेर्न नभ्याउने कोशी विवादको मुद्दा

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १३:१३

मकवानपुर । कोशी प्रदेश सरकार गठन विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।

उक्त इजलासले एक थान मात्र मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा हेर्न नभ्याउने सुचिमा राखेर स्थगीत गरिएको छ । उक्त मुद्दा आइतबार र सोमबार पनि पेसी तोकिने अनि हेर्न नभ्याउने हुँदै सर्दै आएको थियो । अब बुधबारलाई पेसी तोकिनेछ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेससहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाको हकमा बहुमत नपुगेको अवस्थामा नियुक्ति दिएकाले बदर हुनुपर्ने माग गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको प्रस्ताव आह्वानपछि सभामुखसहितको हस्ताक्षर पेस गरेर लिइएको नियुक्ति र सपथ गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ ।

कोशी प्रदेशको प्रदेश सभामा नेपाली कांग्रेस सहितका गठबन्धनको ४६ मत मात्र भएको अवस्थामा सभामुखलाई समावेश गरेर मुख्यमन्त्री दाबी गर्नु संविधान मिच्ने कार्य भएको दाबी रिटमा गरिएको छ । रिटमा पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गरेर मुख्यमन्त्रीलाई काम गर्न रोक लगाउनुपर्ने माग गरिएको छ । अनि निरन्तर सुनुवाइ गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्नु भनेर परमादेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*