कोशी प्रदेश मुख्यमन्त्री नियुक्त प्रक्रियाविरुद्ध एमाले अदालत जाने

बकैया दर्पण संवाददाता
२२ असार २०८०, शुक्रबार १२:४२

मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्त प्रक्रियाविरुद्ध नेकपा एमाले अदालत जाने भएको छ।

संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको भन्दै एमाले र राप्रपा आजै सर्वोच्च अदालतमा रिट दर्ताका लागि जाने पूर्वमुख्यमन्त्री हिक्कमकुमार कार्कीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री थापाले बिहिवार नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र एकीकृत समाजवादी सम्मिलित दलको समर्थन भए पनि बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्ग हस्ताक्षर गरेर चार दल र सभामुखको समर्थन देखाउँदै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

त्यसो त प्रदेश सरकार गठनमा सभामुखको हस्ताक्षर गराएर असंवैधानिक काम भएको भन्दै गठबन्धन दलभित्रै विरोध भइरहेको छ।

सभामुख बाबुराम गौतमले अन्तिम अवस्थामा आफूले प्रदेशलाई निकास दिन बाध्य भएको बताए। ‘अहिले तत्काललाई प्रदेश प्रमुख ज्यू ले उपधारा २ लाई प्रयोग गरेर माग्नुभएको हुँदा त्यही उपधारालाई प्रयोग गरेर त्यही उपधाराको अन्तिम अवस्थामा निकास खोल्न बाध्य भएँ म’, उनले भने, ‘मैले यतिकै डेटलक राख्नुहुँदैन् भनेर खोलेको हो, बाँकी राजनीतिक समीकरण ठिक भएर जाँदा सही निकास पाएर जान्छ। प्रदेशले सुनिश्चितता हाँसिल गर्छ, विकास ल्याउँछ त्यो भएन भनेर अस्थिरतामा जान्छ र संघीयता गुम्ने खतरा हुन्छ। यसमा सबैलाई जिम्मेवार हुन आग्रह गर्छु।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*