प्रतिनिधि सभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १६:३४

मकवानपुर । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ। बुधबार प्रतिनिधि सभामा एमालेको तर्फबाट बोल्दै रघुजी पन्तले प्रधानमन्त्री नैतिकताको आधारमा पदमा बस्न उपयुक्त नभएको बताए ।

‘नैतिकताको आधारमा अब उहाँले प्रधानमन्त्रीको पदमा बस्न उपयुक्त हुँदैन। उहाँले राजीनामा गर्नुस्। जोसुकै प्रधानमन्त्री बनोस्, दिल्लीतिर नफर्किने नेपालीतिर फर्किने नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो। जसले यो देशको स्वाभिमान, गरिमा र मर्यादालाई रक्षा गर्न सकोस्,’ पन्तले भने ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई जोडेर आक्रामक अभिव्यक्ति दिएका पन्तले लेन्डुप दोर्जेको नेपाली संस्करण नचाहिएको बताए ।

प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्ली गएको बताएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको भावनामा आघात र स्वाभिमानमा ठेस लागेको बताए । ‘नेपालको प्रधानमन्त्री नेपालतिर फर्किने हो कि दिल्ली जाने?’, पन्तले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*