राप्रपा नेपालले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने कमल थापाद्धारा स्पष्ट

बकैया दर्पण संवाददाता
२० असार २०८०, बुधबार १६:२३

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन् ।

मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको हुँदाहुँदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अवस्थामा केन्द्रीय समिति बैठकमा व्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने थापाले स्पष्ट पारे ।

बुधबार पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस–कम्युनिस्टप्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रीत भएको अवस्थामा २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुनेसमेत भविष्यवाणी गरे ।

थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनुपर्ने भन्दै सवै जनवर्गीय संगठनहरुलाई संगठन विस्तारमा केन्द्रीत हुन निर्देशन दिए। भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनुपर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापूर्वक उभिनसमेत आग्रह गरे ।

राप्रपा नेपाल असल विचार, निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली वैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दाबी गरे। कार्यक्रममा जनवर्गीय संगठनका प्रमुखहरुले कार्ययोजनासहित भावी रणनीति प्रस्तुत गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*