हेटौंडामा ९ दिने रोबोटिक्स र अटोमेसन कार्यशाला गरिदै

बकैया दर्पण संवाददाता
१५ असार २०८०, शुक्रबार १४:४६

मकवानपुर । एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौँडामा विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी रोबोटिक्स र अटोमेसन सम्बन्धी ९ दिने प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सञ्चालन हुने भएको छ । यही असार १८ गते देखि २६ गते सम्म हेटौंडाको साहित्य सङ्गम मकवानपुरको सभाहल, भैरवरोडमा कार्यशाला गर्न लागिएको हो ।

कार्याशाला गर्ने बिषयमा आज पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो । हरेक दिन दिउँसो १ बजे देखि ४ बजे सम्म कार्यशाला गरिने संस्थाका अध्यक्ष नेत्र प्रसाद बास्तोलाले जानकारी दिनुभयो । नौ दिन सम्म अनुज अधिकारी, सुजन दाहाल लगायतको समूह समूहले प्रशिक्षण दिनु हुने छ । कार्यशालामा हेटौँडाका विभिन्न सामुदायिक र संस्थागत गरी २० विद्यालयका २० जना विद्यार्थी सहभागि हुने उहाँले बताउनुभयो ।

एस्ट्रोनोभा फाउन्डेसन नेपाल हालको लागि हेटौँडाको समग्र शैक्षिक र सामाजिक, आर्थिक अवस्थामा आमूल परिवर्तन गर्ने उद्देश्यका साथ स्थापना भएको एउटा गैर नाफामुलक सामाजिक संस्था हो । नेपाल सरकारको स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँगको सहकार्य तथा स्थानीय सरोकारवालाको समन्वयमा यस प्रदेश राजधानी हेटौँडा र यस आसपासमा रहेका विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरूलाई एउटै मालामा गाँसी उनीहरूको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि, सिर्जनशीलता, उद्यमशीलता, क्षमता विकास र उत्पादनशीलताका लागि सहयोग पुर्याउनका लागि लागिपरेको संस्था रहेको महासचिब चिरञ्जीवी लामिछानेले बताउनुभयो ।

अहिलेको बदलिँदो विश्व परिवेश अनुकूल चल्नका लागि विज्ञान प्रविधि, नवप्रवर्तन, गणित, अनुसन्धान, स्टार्टअप र रोजगारी विकासका क्षेत्रमा नयाँ आयाम स्थापित गरी दुरगामी लक्ष्यका साथ यस क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरण गर्ने उद्देश्य राखेको एस्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौँडामा विगत दुई वर्षदेखि आफ्ना गतिविधिहरूलाई अगाडि बढाइरहेको छ । एस्ट्रोनोभा फाउन्डेसन नेपालले महत्वाकांक्षी परियोजना सञ्चालन गर्नका लागि पनि आवश्यक प्रक्रिया अघि बढिरहेको छ ।

शिक्षा क्षेत्रमा दशकदेखि विभिन्न निकायमा प्रत्यक्ष रूपमा संलग्न तथा अनुभव प्राप्त विविध क्षेत्रका प्राज्ञिक तथा विज्ञ व्यक्तिहरुको बीचमा विचार विमर्श, अध्ययन तथा अनुसन्धान पश्चात हेटौँडामा काम गर्ने गरी यसको अवधारणा अघि सारिएको हो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*