कान्तिलोकपथ सडकखण्ड पहिरोका कारण अवरुद्ध

बकैया दर्पण संवाददाता
१५ असार २०८०, शुक्रबार ११:५६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौैं जोड्ने कान्तिलोकपथ सडकखण्डमा आज बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको भटेटेडाँडास्थित मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरततर्फ बागमती पुल नजिकै गएको पहिरो जाँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा आउँने दुबैतिरका यातायात अवरुद्ध बनेको हो । हाल वर्षा भइरहेको र मौसम सुधार आएपछि पहिरो हटाइ यातायात संचालनमा ल्याउने प्रहरीले जनाएको छ । हेटौंडाबाट काठमाडौं जान हिडेको हल्का सवारी साधनहरुलाई ठिंगन प्रहरीले रोकेर यातायात नखुलेसम्म लामबद्ध गरी रोकिराखेको पनि जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

यसैगरी, चितवनको मुग्लिन सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडकखण्ड हुँदै चल्ने सबै सवारी साधनहरुलाई गएरातिदेखि नै धादिङ नौविसेको त्रिभुवन राजपथबाट संचालनमा रहेको मकवानपुरका प्रहरी निरीक्षक घिमिरेले बताए ।

मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी र चित्लाङ थानकोट सडकमा पनि अहिले दैनिक सवारी साधनहरु संचालनमा रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*