गाई काटेको आरोपमा बकैयाबाट ५ जना पक्राउ

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार १०:२४

मकवानपुर । गाई काटेको आरोपमा मकवानपुर प्रहरीले बकैया गाउँपालिकाबाट पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ बकैया–५ स्थित तीनतलेबाट गाई काटेर भाग लगाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा तीन जना महिला र दुई जना पुरुष रहेका छन् । सोही ठाउँका ३० वर्षीय जयराम स्याङ्तान, ४८ वर्षीय दिनेश थिङ, ५५ वर्षीया माइली थिङ, ६३ वर्षीया साइली माया गोले र ४८ वर्षीया सपना स्याङ्तान रहेका छन् । शुक्रबार साँझ गाई काटेको भनी विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर करिब ४० केजी गाईको मासुसहित उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । शुक्रबार नै उनीहरुविरुद्ध गाई काटेको अभियोगमा मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । पक्राउ परेकामाथि म्याद थपेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बरामद गरिएको गाईको मासु परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । अभियोग पुष्टि भएमा करिब ३ वर्षको जेल सजाय हुन सक्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

दुई वर्ष अगाडि पनि बकैया–११ बाट गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जना पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ९ जनालाई जिल्ला अदालत मकवानपुरले जनही ४०–४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । पक्राउ परेका एक जना भने बालक भएका कारण छाडिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*