नक्कली भुटानी शरणार्थी प्रकरण : अहिलेसम्म खाणसहित १२ जना पक्राउ, लहरो अझै तानिँदै

बकैया दर्पण संवाददाता
२७ बैशाख २०८०, बुधबार १४:३९

मकवानपुर । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक आज बुधवार पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका हुन् । मङ्गलवार काठमाण्डौ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरू पैसा उठाउने बिचौलिया भएको प्रहरीले जनाएको छ ।

यही प्रकरणमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई पक्राउ परिसकेका छन् ।

पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसहित नौ जना फरार रहेका प्रहरीको भनाइ छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र पूर्व गृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै आठ सय ७५ जना नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । यस प्रकरणमा कांग्रेस नेत्री एवम् सांसद आरजु राणा देउवा र मञ्जु खाणले पनि पैसा लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । यो अडियोमा आरजुलाई साढे दुई करोड र मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको दाबी गरिएको छ । यो अडियोको विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

२०७६ जेठ ३० : भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन । कार्यदलको विज्ञ सदस्यका रूपमा गणेश केसी र सदस्य सचिवका रूपमा गृह मन्त्रालयका शाखा अधिकृत दीपकप्रसाद न्यौपाने नियुक्त भए । बिचौलिया समूहको स्वार्थअनुसार कार्यदल गठन भएको पुष्टि भइसकेको छ ।

२०७६ कात्तिक १ : कार्यदलको प्रतिवेदन पेस । तर त्यो प्रतिवेदन सरकारले अझैसम्म सार्वजनिक गरेको छैन । सरकारले सार्वजनिक नगरेको प्रतिवेदनमा नेपालमा रहेका शरणार्थीलाई तेस्रो देशमा पुनर्स्थापनाका लागि सरकारले पहल गर्न सिफारिस गरेको थियो । बिचौलिया गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेर त्यसमा आठ सय ७५ जना नेपालीको नामसहितको अनुसूची थपेको हो । उनीहरूबाट जनही १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएर गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

२०७८ असोज १४ : गृह सचिवस्तरीय निर्णयबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी ९सीडीओ० को अध्यक्षतामा छुट शरणार्थीको विषयमा अर्को कार्यदल गठन ।

२०७८ मङ्सिर १३ : पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय । छुट शरणार्थी दर्ता गर्ने विषयले सरकारी मान्यता पाए पनि उनीहरूलाई तेस्रो देश पुनर्वास गराउने विषयमा कुनै पनि देशसँग सहमति भएको थिएन । यसका लागि सुझाव पेस गर्न भन्दै फेरि झापा प्रशासनलाई पत्र लेखियो ।

२०७८ मङ्सिर १८ : कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गर्‍यो ।

२०७९ चैत १२ : नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित सानु भण्डारी र टेक गुरुङ पक्राउ ।

२०७९ चैत १५ : गिरोहमा संलग्न सागर राई पक्राउ ।

२०८० वैशाख १९ : तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ । हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानको आधारमा प्रहरीले राईलाई पक्राउ गरेको हो । प्रहरीले यही दिन इन्द्रजितका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्‍यो । रकम सङ्कलनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको भनिएका नीरज अहिले फरार छन् ।

२०८० वैशाख २० : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । त्यही दिन तत्कालीन ऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी । सन्दीप त्यही दिन पक्राउ परे पनि टोपबहादुर अझै फरार ।

मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्र बसेर गिरोहको योजनाअनुसार नीतिगत निर्णयमा प्रभाव पार्दै आएका इन्द्रजित राईले भित्रका सबै सूचना र दस्तावेज गिरोहलाई उपलब्ध गराउँदै आएको र राईसहितको गिरोहले रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको आरोप छ । गिरोहका सदस्यका तर्फबाट रायमाझीका छोरा सन्दीपको नाममा काटिएको एक करोड ५० लाख रुपैयाँको चेक प्रहरीले बरामद गरिसकेको छ ।

वैशाख २६ : गिरोहमा संलग्नमध्ये काठमाण्डौको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ ।

वैशाख २७ : पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ । प्रहरी हिरासतमा रहेका सचिव पाण्डेले पूर्व गृहमन्त्री खाणको समेत नाम लिएपछि आरोपितहरूको बयानका आधारमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो । (उज्यालो अनलाइनबाट )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*