प्रदेश सभा बैठक दलिय सहमति नजुट्दा बस्नै सकेन

बकैया दर्पण संवाददाता
१ फाल्गुन २०७९, सोमबार २१:०३

मकवानपुर । बागमती प्रदेश सभामा दलिय सहमति नजुट्दा प्रदेश सभा बैठक बस्नै सकेन सोमबार मध्यान्ह १२ बजेको लागि बोलाईएको बैठक दलिय सहमति नजुट्दा पटक पटक स्थगित भयो, अन्तत: सांझ बस्ने भनिएको बैठक पनि बस्न सकेन ।

प्रदेशसभाका सातवटा विषयगत समितिका सदस्यहरु मनोनीत गर्न बस्ने भनिएको बैठक नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरुको नाम नपठाएपछि बैठक बस्न नसकेको हो। आइतबारको प्रदेशसभा बैठकले कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यहरु मनोनीत गरेको थियो ।

सोमबार बाँकी सातवटा विषयगत समितिहरुको सदस्य मनोनीत गर्ने कार्यसूची रहे पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले समितिमा सहभागी हुने सदस्यहरुको नाम नपठाएपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभामा संसदीय समितिहरू गठन गर्ने कार्यसूची तय भए पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सदस्यहरूको नाम नपठाउँदा प्रदेशसभा बैठक प्रभावित भएको हो। आइतबार सर्वदलीय बैठक बसेर सोमबारको बैठकमा संसदीय समिति गठन गर्ने सहमति भए पनि सोमबार कांग्रेस र एकीकृत समाजवादीले सदस्यहरूको नाम पठाउन अरुचि देखाएपछि १२ बजेका लागि बोलाएको प्रदेश सभा बैठक निर्धारित समयमा बस्न सकेन । त्यसपछि ४ बजेको लागि बोलाइयो ।

४ बजे पनि बैठक बस्न नसकेपछि ५ बजेलाई बोलाइयो । फेरि पनि बैठक बस्न दलिय सहमत जुटेन । अन्ततः बैठक माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको हो । माघ २६ गतेको बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची रहेको बताइएको छ । प्रदेश प्रमुख शर्माले संवैधानिक ब्यबस्था अनुसार प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

कांग्रेस र समाजवादीका नेताहरू सङ्घीय सरकारमा समेत समितिहरू गठन नभएको भन्दै प्रदेशमा अहिले नै हतार गर्न नपर्ने भन्दै दुई दलले नाम दिएनन् । उनीहरुले प्रदेश संसद् सचिवालयका सचिव र सभामुख मिलेर सत्तापक्षलाई बल पुग्ने गरी समिति गठनको प्रक्रिया अघि बढाएको आरोप लगाउँछन् ।

“सत्तापक्षलाई बल पुग्ने गरी एकलौटी गर्न खोजियो त्यसैले काँग्रेसले अहिले नै नाम पठाउँदैन” कांग्रेसका एक सांसदले “हामीमा नाम फाइनल छ, उता नदिएका मात्रै हौं ।” त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण खनाल पनि आफ्नो पार्टीबाट समितिमा पठाउने सदस्यहरूको नाम तयार भए पनि अहिले नै नपठाउने बताएछन् । खनालले भने “नामहरू फाइनल छ तर अहिले पठाउँदिन ।”

प्रदेश सचिवले कार्यव्यवस्था परामर्श समितिलाई बेवास्ता गर्दै सर्वदलीय बैठक बोलाएको उनीहरूको दाबी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*