भैंसेमा गाँजा बरामद, तीनजना पक्राउ

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार ११:५२

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको चुनियाँबाट हेटौंडा बजारतर्फ जाँदै गरेको अटोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । मंगलबार राती ८ बजेर १५ मिनेटको समयमा चुनियाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा प्र ०३–००१ ह १४९१ नम्बरको अटोलाई प्रहरी चौकी भैंसेमा सुरक्षाजाँच गर्दा प्रहरीले करिब ९ केजी गाँजा बरामद गरेको हो ।

प्रहरीले गाँजा बरामद भएको अटो र अटो चालकसहित ३ जना नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । अटोचालक हेटौंडा–८, कमानेका ४५ वर्षीय सूर्य बिश्वकर्मासहित अटोमा सवार मकवानपुरको मनहरी गाउँपालिका–९, खरङ्गाका २९ वर्षीय होमलाल मोक्तान र बैतडी जिल्लाको रिम गाउँपालिका–६ का ३० वर्षीय कृष्ण जोशी रहेको प्रहरीले जनाएको छ ।

जोशी हेटौंडास्थित सशस्त्र प्रहरी बलको १४ नम्बर गणमा कार्यरत प्रहरी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*