बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन

बकैया दर्पण संवाददाता
२३ माघ २०७९, सोमबार ११:४९

मकवानपुर । बागमती प्रदेशसभाले कार्य व्यवस्था परामर्श समिति गठन गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन गरेको हो ।

प्रदेशसभाको काम कारबाही, बैठकको कार्यसूची तथा आवश्यकताका आधारमा सभामुखलाई सघाउन उक्त समिति गठन गरिएको हो । समितिको नेतृत्व सभामुख भुवनकुमार पाठकले गर्नेछन् भने उपसभामुख अप्सरा चापागाईँ र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ प्रदेश सदस्य रहने छन् ।

कार्य व्यवस्था परामर्श समितिको सदस्यहरूमा एमालेबाट आनन्द कुमार श्रेष्ठ, मधुसूदन पौडेल, भारती पाठक माओवादी केन्द्रबाट रत्न ढकाल राधिका तामाङ, काङ्ग्रेसबाट छिरिङ दोर्जे लामा, कुन्दन राज काफ्ले, रामकृष्ण चित्रकार, हरि प्रभा खड्गी, एकीकृत समाजवादी पार्टीबाट ओम कुमारी श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य र नेमकिपाबाट सुरेन्द्रराज गोर्साई रहेका छन् ।

प्रदेशसभाको बैठकको आइतबारको बैठकमा शून्य समयको कार्यसूची रहेको थियो । उक्त समयमा १७ जना प्रदेश सांसदहरूले प्रदेशका समसामयिक र नागरिकहरूको समस्याका विषयहरू संसदमा राखेका थिए ।

उक्त बैठकमा राप्रपाकी आशा लामा, कुमारी तामाङ, एमालेका अमन कुमार मास्के, भारती पाठक, प्रमभक्त महर्जन, जयराम थापा, दिनेश चन्द्र देवकोटा, भरत बहादुर केसी, कांग्रेसका उत्तम जोशी, कुन्दनराज काफ्ले, उर्मिला सुनुवार, गीता गुरुङ, गोविन्द लम्साल, कुमार तामाङ, माओवादी केन्द्रका इश्वर सापकोटा, उर्मिला कुमारी लामा र नेमकीपाकी गीता काफ्लेले सम्बोधन गरेका थिए ।

बैठकमा सांसदहरूले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको धारणा व्यक्त गरेका थिए । उनीहरुले संसदमा बोल्दै तरकारी सडकमा फ्याकेरे चितवनमा किसानले गरेको विरोधलाई प्रदेश सरकारले उचित सम्बोधन गर्न माग गरेका थिए । देशमा विद्यामान बेतिथिका कारण प्रम आचार्य जस्ता कयौँ युवाहरूले आफ्ना सपनाको हत्या भइरहेको उनीहरूको भनाइ थियो ।

प्रदेशसभाको उक्त बैठकले आगामी माघ २६ गतेका लागि प्रदेश प्रमुखको सम्बोधन मिति तय गरेको छ । उक्त दिन दिउँसो १ः०९ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले सांसदलाई सम्बोधन गर्नेछन् । सो दिन प्रदेश सांसदहरूलाई औपचारिक पोसाकमा उपस्थित हुन आह्वान गरिएको छ । प्रदेशसभाको अर्को बैठक माघ २३ गते सोमबार दिउँसो १२ः०८ बजे बस्ने गरी स्थगित भएको छ । (रातोपाटीबाट )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*