हेटौंडाका अर्वपति अजयराजकी आमालाई जग्गा दिदै आयोग

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १०:३५

मकवानपुर । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न राष्ट्रिय भूमि आयोग बनेको हो । तर यो आयोगले मकवानपुरमा पहुँच र शक्तिका आडमा ठूलाबडालाई लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । यसरी लालपूर्जा पाउनेमा अर्बपति व्यापारी अजयराज सुमार्गीकी आमाको नामसमेत परेको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले अर्बौँ सम्पत्तिका मालिक अजयराज सुमार्गीकी आमा विश्वकान्ती कलावती सुमार्गी पराजुलीलाई हेटौँडा–९ मा एक विगाहा १२ कट्ठा २ धुर जग्गा प्रदान गर्ने तयारी गरेको छ । यस्तै सुमार्गी परिवारका अन्य ४ सदस्यका नाममा समेत १ विगाह १७ कट्ठा जग्गा दर्ता गर्ने तयारी छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति मकवानपुरले माघ १० गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र उक्त जग्गामा दाबी विरोध भए उजुरी गर्न सार्वजनिक सूचना जारी गरेको हो । सूचना जारी भएसँगै मकवानपुरका स्थानीय चकित परेका छन् । २०५१ सालदेखि वन क्षेत्रका रुपमा संरक्षण गरिरहेको जग्गा पहुँचका आडमा सुमार्गी परिवारले दर्ता गर्न लागेको स्थानीयको आरोप छ । यसरी सुकुम्वासी समस्या समाधान आयोगले सुकुम्वासीको नाममा पहुँचवालालाई जग्गा दिन लागेकोमा हेटौंडा ९ का स्थानीय शम्भु पाण्डे आक्रोस व्यक्त गर्नुहुन्छ ।

यसैगरी स्थानीय रमेश कुमार मिश्रलाई पनि सुकुम्वासीका नाममा जंगलको जग्गा सुमार्गि परिवारलाई दिन लागेकोमा चित्त बुझेको छैन । सुमार्गी परिवारले दाबी गरेको जग्गा कुखरेनी सामुदायिक वन क्षेत्रभित्र पर्दछ । यो सामुदायिक वनले नदी उकास क्षेत्रको केही भाग ५० वर्षका लागि मानव सेवा आश्रमलाई उपलब्ध गराएको छ ।

सुमार्गी परिवारका सदस्य प्रदीप पराजुली भने यो जग्गा वषौंदेखि आफुहरुले नै भोगचलन गर्दै आएको दाबी गर्छन् । बषौदेखि खाली रहेर स्थनीयले वनका रूपमा संरक्षण गरिरहेको भूमिहिन सकुम्बासीलाई नभई अर्बौँ सम्पत्तिको मालिकहरूका नाममा दर्ता गर्ने प्रकृया सुरु भएकोमा यहाँका बासिन्दाले चिन्तासँगै आक्रोस व्यक्त गरेका छन् । (जनपत्र अनलाइनबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*