द्रुत मार्ग निर्माणले वकैयामा वस्ति र जलचर जाेखिममा, समाधान खाेज्दै पालिका

बकैया दर्पण संवाददाता
६ माघ २०७९, शुक्रबार १५:०४

मकवानपुर । काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग आयोजना निर्माणका क्रममा निस्कने ढुङ्गामाटोलाई आयोजना र निर्माण कम्पनीले उचित ब्यबस्थापन नगर्दा मकवानपुरको बकैया गाउँपालिकाका बिभिन्न बस्तीहरू जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ ।

द्रुत मार्गले धेरै क्षेत्र ओगटेको बकैया गाउँपालिकामा निर्माणका क्रममा निस्किएका ढुङ्गामाटोलाई अब्यबस्थीत रुपमा बकैया र सिमात खोलामा फाल्दा बकैयाका १२, ११, ५, ४, ६ र ७ नम्बर वडाका बिभिन्न बस्तीहरु जोखिममा परेका हुन् । त्यसको हालै बिभिन्न वडा अध्यक्षहरुले आयोजना र निर्माण कम्पनीसँग बिरोध जनाएका छन् । सुरुङ खन्दा प्रयोग भएको रसायनको व्यवस्थापन नहुँदा स्थानीय खोलामा मिसिएर माछालगायत जलचरसमेत मर्दै गएकाले सङ्कटमा परेको र नासिने जोखिम बढेको छ ।

आयोजना निर्माणका क्रममा बकैया ६ र ७ को सिमानामा पर्ने बकैया खोलाको अनधिकृत रुपमा धार परिवर्तन गरी अस्थायी सडक निमांण गरिदा जलचरहरुको बासस्थानमा जोखिम परेको नेपाल माझी उत्थान सङ्घ मकवानपुरका अध्यक्ष लोकेन्द्र माझीको भनाई छ । उहाँले पिउने पानीको पनि अभाव हुन थालेको बताउदै यसबाट मानव वस्ती र जलचरको बासस्थानमा असर परेको बताउनुभयो । उहाँले यसबाट माझी समुदायलाई उनीहरुका पेशामा परेको असरका बारेमा आफुले पालिकामासमेत कुरा उठाएको बताउदै यस कार्यको बिरोध जनाउनुभयो ।

बकैया ७ का वडा अध्यक्ष मानबहादुर सिंतानले यो बिषयमा पटक–पटक आयोजना र निर्माण कम्पनीसँग कुरा उठाएको बताउदै केही समयका लागि मात्रै भनेर अस्थायी बाटो निर्माण गर्न दिएको भए पनि यो बाटो कति समयसम्म रहने भन्ने बिषयमा आफुलाई थाहा नभएको बताउनुभयो । द्रुत मार्ग निर्माणले अधेरीमा एउटा वस्तीबाट अर्को वस्तीमा जान समस्या परेको गुनासो आफुलाई आएको उहाँको भनाई छ ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले द्रुत मार्ग निर्माणका क्रममा भएका कामकारवाहीका बिषयमा आफुहरुले नेपाली सेना र आयोजना निर्माण कम्पनीलाई पालिकामा बोलाएर छलफल गर्ने गरी तयारी गरीरहेको बताउनुभयो । उहाँले उक्त छलफलपछि चाडैँ यो समस्याको समाधान हुने बिश्वास ब्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*