एमालेका कृष्णगोपाल श्रेष्ठ चौथो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बकैया दर्पण संवाददाता
६ मंसिर २०७९, मंगलवार १६:२५

मकवानपुर । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो ।

यसअघि उहाँ विसं २०४८ मा काठमाडाैं निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडाैं निर्वाचन क्षेत्र नं ७ तथा विसं २०७४ मा काठमाडौँ क्षेत्र नं ९ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

काठमाडौँ महानगरपालिका १४ बल्खु स्थायी ठेगाना रहेका श्रेष्ठको विसं २०१५ असोज १४ गते पिता हरिलाल श्रेष्ठ र माता हरिमाया श्रेष्ठका कोखबाट जन्म भएको हो ।

अर्थशास्त्रमा स्नाकोत्तर श्रेष्ठले विसं २०५९ देखि २०६० मा स्थानीय विकास राज्यमन्त्री तथा विसं २०७७ देखि २०७८ सम्म शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो । एमाले पार्टी कार्यालयको मुख्यसचिवका रुपमा समेत उहाँले जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

तत्कालीन नेकपा(माले) विद्यार्थी सङ्गठनको क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिमा प्रवेश गर्नुभएका श्रेष्ठ अनेरास्ववियूको त्रिवि कमिटी अध्यक्ष हुँदै विसं २०४७ मा अखिल नेपाल किसान सङ्घको सचिव हुनुभयो । विसं २०४९ मा राष्ट्रिय परिषद् सदस्य तथा विसं २०४९ देखि २०७५ सम्म पार्टी केन्द्रीय सदस्य रहनुभएका श्रेष्ठ हाल पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

विद्यार्थी जीवनदेखिनै प्रगतिशील राजनीतिमा सक्रिय श्रेष्ठ पुष्पलाल स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति प्रतिष्ठानसँग आबद्ध हुनुहुनछ । उहाँकी धर्मपत्नी बिना पनि राजनीतिमै हुनुहुन्छ । यसअघि उहाँ राज्यव्यवस्था तथा सुशासन समिति सदस्यकारुपमा हुनुहुन्थ्यो । विसं २०३४ देखि २०४७ सम्म पटक–पटक गरी दुई वर्ष भूमिगत र प्रहरी हिरासत जीवन बिताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*