मधेस सरकारबाट कांग्रेसका तीन मन्त्री बर्खास्त

बकैया दर्पण संवाददाता
२८ आश्विन २०७९, शुक्रबार १४:३१

मकवानपुर । मधेस प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका तीन जना बर्खास्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार तीनै जनालाई बर्खास्त गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।

उनीहरूलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्तीमा परेका हुन् ।

मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा १६९ उपधारा २ को खण्ड ख बमोजिम कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गर्न प्रदेश प्रमुख हरिशंक मिश्रलाई सिफारिस गरेका थिए । खाली भएका तीनै मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई दिइएको छ ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरू नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*