पाँचथरका ३४ मतदान केन्द्र अति संवेदनशील सूचीमा

बकैया दर्पण संवाददाता
२६ आश्विन २०७९, बुधबार ११:३८

मकवानपुर । पूर्वीपहाडी जिल्ला पाँचथरका ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् ।

पाँचथरका १ सय २ मध्ये ३४ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्ला सुरक्षा समिति पाँचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रहरुको वर्गीकरण गरेको हो । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गर्दै सोही अनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याएको हो ।

भौगोलिक विकटता, मतदाता, मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेको भनाइ छ । वर्गीकरण गरिएका मध्ये फिदिम नगरपालिकाका-९, फालेलुङ गाउँपालिकाका-११, तुम्वेवाको-१,फाल्गुनन्दका ३ वटा र मिक्लाजुङका ८ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार फिदिम नगरपालिकाका ३, याङवरक गाउँपालिकाका ९, हिलिहाङका ११, कुम्मायकका १०, तुम्वेवाका ८, फाल्गुनन्दका १२ र मिक्लाजुङका ५ वटा मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । त्यस्तै, फिदिम नगरपालिकाका ९ र याङवरक गाउँपालिकाको एक गरी ९ वटा मतदान केन्द्र सामान्यको सूचीमा परेका छन् । अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने उहाँले बताउनुभयाे । अति संवेदनशील, संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीसँगै कर्मचारी व्यवस्थापन आदि समेत पर्छन् ।

निर्वाचन सामग्री लैजाने, मतदानसँगै मतदान पश्चातको सुरक्षा व्यवस्था प्रबन्ध र जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताकै आधारमा गरिने सुरक्षा समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*