काठमाडौंका मेयर साहको स्वीकारोक्ति : फोहोर ब्यवस्थापनमा ढिलाई भयो ।

बकैया दर्पण संवाददाता
१९ भाद्र २०७९, आईतवार १३:५७

मकवानपुर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ ।

कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आज आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मेयर साहले फोहोर व्यवस्थापनका सन्दर्भमा आफूहरुले जस्तो सोचे जस्तो काम हुन नसकेको स्वीकार्नुभएको हो ।

तर, झन्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन भने आफूहरु सफल भएको भन्दै उहाँले समस्याहरूको पहिचान गरेर तिनको दिगो समाधानका योजनाहरू बनाउने अवस्था बनेको उल्लेख गर्नुभएको छ ।

आफूहरू सय दिनको दौडमा नरहेको भन्दै उहाँले आफैले सय दिनको मूल्यांकन गर्नुभन्दा आममानिसले परिवर्तनको महसुस गरेर सकारात्मक उर्जा पाए भने मात्रै कामले नतिजा दिएको ठान्ने उल्लेख गर्नुभएको छ ।

आफूहरू महानगरको कार्यक्षेत्र, कर्तव्य र अधिकारभित्रै रहेर काम गर्न सचेत रहेको भन्दै मेयर साहले सय दिनमा लिइएका ६ वटा निर्णयले मनमा छोएको उल्लेख गर्नुभएको छ । काम गर्न पाँच वर्षका योजना रहेको भन्दै उहाँले अझै केही समय गाली र आलोचना मात्रै सुन्न र सहन तयार पनि बताउनु भएको छ ।

फुटपाथबाट मकैको ठेला हटाएको, ई–स्पोर्ट्सका लागि एक करोड रुपैयाँ दिएको, यमबुद्धको सालिक बनाउने निर्णय, कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन, फोहोर व्यवस्थापनमा ढिलाइ र नर्भिक अस्पताललगायत स्थानका अनधिकृत संरचना हटाउने सन्दर्भ उल्लेख उहाँले उल्लेख गर्नुभएको छ ।

हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने प्रतिवद्धता ब्यक्त गर्दै मेयर साहले काठमाडौंवासीको विश्वास र समर्थनलाई निराशामा परिणत हुन नदिने प्रतिवद्धता पनि जनाउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*