बाजुराको बुढीगंगा नगरपालिकामा भोलि पुनः मतदान हुने, सुरक्षा व्यवस्था कडा

बकैया दर्पण संवाददाता
२२ असार २०७९, बुधबार ११:२१

मकवानपुर । बाजुराको बुढीगंगा नगरपालिकामा भोलि बिहीबार पुनः मतदान हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू हुनेछ ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको यस पालिकामा हरेक मतदान स्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।

बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ रहेको छ । बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*