अर्थमन्त्रीः नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छ, पुरस्कारको व्यवस्थाले सुन समात्यौँ

बकैया दर्पण संवाददाता
८ श्रावण २०८०, सोमबार १३:११

मकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन् ।

उनले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताए। उनले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताए ।

उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए । उनले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत गरे । उनले सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताए ।

उनले भने, ‘हिजो मात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक(पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलो पन ल्याउनुपर्छ भन्दै आएको थिएँ। त्यही खुकुलो आएको छ । अरु पनि केही पहलहरु भएका छन् । त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर कम भएर जान्छ । लगानीको वातावरण सहज बनाउँछ ।

पुरस्कारको व्यवस्थाले सुन समात्यौँ

अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०÷०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गरे । मन्त्री महतले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए ।

उनले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘जसलाई जे मन लाग्यो त्यो भन्न पाउने, त्यहाँमाथि सामाजिक सञ्जालमा भाइरल भइहाल्छ । मैले बजेट बनाउँदादेखि नै मैले यस्तो भिजनमा कल्पना पनि गर्न सक्दिनँ । मैले बजेटमा नै प्रश्ताव गरेको हो कि यो भन्सारमा कतिपय कुराहरुलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो ।

त्यस्तै, उनले पार्टी केन्द्रीय समितिको बैठक लाइभ गरेसँगै भ्रम छर्नसक्ने गुञ्जायस नरहेको जिकिर गरे । उनले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय भई लाइभ चलिरहेको भन्दै अहिले राम्रो प्रतिक्रिया पाइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*