नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

बकैया दर्पण संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार ०९:५१

मकवानपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा यथेष्ट प्रमाण नजुटेकाले प्रकरणमा मुछिएकामाथि प्रहरीले थप प्रमाण जुटाउन थालेको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी दानबहादुर कार्कीले यसअघि खुल्न नसकेका तर यो विषयमा जोडिएका र मुछिएकामाथि दोस्रो चरणमा अनुसन्धान सुरु भइसकेको बताउनुभएको छ । अहिले फरार सूचीमा रहेका १७ जनामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक तथा इन्द्रजित राईका छोरा निरज, बिचौलिया बेचन झा तथा पैसा लेनदेनमा सहयोगी भूमिका खेल्ने अन्य १४ जना छन् ।

पहिलो चरणमा अस्ति बुधवार ३० प्रतिवादीविरुद्ध चार मुद्दा दायर भइसकेको छ । जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मियाँलगायत उच्चपदस्थ व्यक्ति रहेका छन् । उनीहरूविरुद्ध सङ्गठित अपराध, ठगी, राज्यविरुद्धको अपराध तथा लिखत कीर्ते कसुरको मागदाबी गरिएको छ । बुधवार दायर भएको मुद्दामा आजदेखि अदालती कारबाही सुरु हुँदैछ । ३० प्रतिवादीमध्ये १६ जना पक्राउ परेकाले उनीहरूको बयान सुरु हुनेछ ।

बयानपछि थुनछेक बहस हुनेछ । बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलले बहस सकेपछि प्रतिवादीका तर्फबाट अधिवक्ताले बहस गर्नेछन् । प्रतिवादीका अधिवक्ताले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस पनि हुनेछ ।

दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*