आज नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध अदालतमा अभियोजन दर्ता गर्ने तयारी

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०८०, बुधबार १०:०३

मकवानपुर ।  जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।  अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले सकेसम्म आज नै मुद्दा दर्ता गर्ने गरी अध्ययन भइरहेको बताउनुभयो । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्ने उहाँको भनाइ छ ।  जिल्ला प्रहरी परिसर काठमाण्डौले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन गएको सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पालगायत १६ जना पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् । यो प्रकरणमा संलग्नलाई ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीले दिएको छ ।यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिएको छ । प्रहरीले घटनामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको आशंकामा थप अनुसन्धानको बाटोलाई खुला राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*