आज लुम्बिनीका मुख्यमन्त्री चौधरीले र गण्डकीका मुख्यमन्त्री पाण्डेले पर्सि विश्वासको मत लिने

बकैया दर्पण संवाददाता
१९ बैशाख २०८०, मंगलवार ०९:१९

मकवानपुर । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । यसअघि हिजो नै विश्वासको मत लिने तयारी भए पनि सार्वजनिक बिदा परेकाले उहाँले आज विश्वासको मत लिन लाग्नुभएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो।

मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेश सभाको अधिवेशन आज बोलाइएको छ । प्रदेश सभाको पहिलो अधिवेशनको दशौँ बैठक आज बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले निकालेको सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेश सभामा रहेका आठ दलका ५३ जना सांसदको समर्थनमा गएको वैशाख १४ गते चौधरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र १/१ सांसदसहित ५३ जनाको समर्थन छ । लुम्बिनी प्रदेशमा ८७ जना सांसद रहेका छन् ।

चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने गृहकार्य गर्नुभएको छ । गठबन्धन दलमा मन्त्रालयको भागबण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ । मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि विनाविभागीय हुनुहुन्छ ।

यस्तै गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्सि बिहीवार विश्वासको मत लिने तयारी गर्नुभएको छ । वैशाख १४ गते पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । नियुक्त भएको दोस्रो दिन मुख्यमन्त्री पाण्डेले विनाविभागीय दुई मन्त्रीसहित शपथ लिनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रीमण्डल यसअघि  गठन गरिसके पनि मन्त्रालय बाँडफाँट र सरकारले पूर्णता पाउन सकेको छैन । सरकारले विश्वासको मत प्राप्त गरेपछि मात्र सरकारलाई पूर्णता दिने गठबन्धन दलबीच सहमति भएको छ ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभा अधिवेशन बोलाउन  प्रदेशप्रमुख पृथ्वीमान  गुरुङसमक्ष  सिफारिस गरेअनुसार प्रदेशप्रमुख गुरुङले पर्सि २१  गते दिउँसो २ बजे प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

गण्डकी प्रदेश सभामा गठबन्धन दल कांग्रेसबाट २७, माओवादीका सात र एकीकृत समाजवादी (स्वतन्त्रबाट प्रवेश) एक सांसद छन् । सत्ता गठबन्धनमा सामेल सांसदको सङ्ख्या ३५ छ । एमालेका २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*