चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने

बकैया दर्पण संवाददाता
२५ चैत्र २०७९, शनिबार ०८:५७

मकवानपुर ।  चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । हिजो चीनको राजधानी बेइजिङमा भएको परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कुटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनले यस्तो आश्वासन दिएको हो ।

बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार नेपालमा चिनियाँ अनुदानका परियोजनाको समयबद्ध कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् ।

यस्तै, चिनियाँ अनुदान सहयोगमा निर्माण भइरहेका विभिन्न पूर्वाधार विकास आयोजना र चिनियाँले ठेक्का लिएका आयोजना समयमै सम्पन्न गर्न कार्यान्वयनलाई तीव्रता दिनुपर्नेमा सहमति पनि भएको छ ।

नेपालले चिया, कफी, जडीबुटी, राँगा/भैँसीको मासु तथा कृषिजन्य वस्तुलाई चीनमा निर्यातका लागि वातावरण बनाइदिन गरेको आग्रहमा चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको जवाफ दिएको छ । बैठकमा दुई देशबीच आर्थिक साझेदारी, व्यापार प्रवर्द्धन, लगानी र पर्यटन, कनेक्टिभिटी निर्माण, कृषि, शिक्षा, सांस्कृतिक तथा जनस्तरको सम्बन्धबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ।

यस्तै, दुई पक्षबीच जनसम्पर्क तथा सांस्कृतिक सहयोग प्रवर्द्धन, नेपाली विद्यार्थी तथा पेसाकर्मीलाई चीनमा छात्रवृत्तिको सङ्ख्या बढाउने, नेपालका प्राविधिक विज्ञहरूको क्षमता बढाउनेलगायत विषयमा पनि छलफल भएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौड्याल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका उपमन्त्री सुन वेइदोङले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*