पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष पदको मतगणना पुनः गर्न उच्च अदालत पोखराले आदेश

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार १९:४८

मकवानपुर । पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष पदको मतगणना पुनः गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलासले आउँदाे वैशाख २० गते मतगणना गर्न मङ्गलवार आदेश दिएको हो ।

पाेखरा–१८ मा वडाध्यक्षमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना तीन मतले विजयी हुनुभएकाे थियाे । यस मतगणनाप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पुष्कल थापाले उच्च अदालतमा मुद्दा दायर गर्नुभएकाे थियाे । थापाले चुनावमा खसेको मतभन्दा नाै मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दायर गर्नुभएकाे थियाे । उहाँले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दायर गर्नुभएकाे थियाे ।

पाेखरा–१८ मा पाँच हजार आठ सय ४३ जना मतदाता रहेकामा चार हजार तीन सय ४८ मत खसेको थियो । गणनाका क्रममा चार हजार तीन सय ३९ वटा मतपत्र मात्र भेटिएकाे थियाे । कांग्रेसका तिमिल्सिनाले एक हजार छ सय ४३ मत ल्याउँदा एमालेका थापाले एक हजार छ सय ४० मत पाउनुभएकाे थियाे । नेकपा माओवादी केन्द्रका राजु शर्मा तिमिल्सिनाले सात सय दुई मत ल्याउनुभएकाे थियाे । अन्य चार जना सदस्य भने नेकपा एमालेले जितेको थियो । खुला सदस्यमा नमराज सुवेदीले एक हजार सात सय ४९ र रमेशबहादुर थापाले एक हजार आठ सय ५६ मत प्राप्त गर्नुभएकाे थियाे । महिला सदस्यमा कल्पना ढकाल क्षेत्रीले एक हजार आठ सय २८ मत र दलित महिला सदस्य मिनाकुमारी नेपालीले एक हजार आठ सय ५६ मत प्राउनुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*