आज रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७९, मंगलवार ०८:३९

मकवानपुर ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध हिजो दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुने लागेको हो ।

रिटमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै  महान्यायाधिवक्ता दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्न माग गरिएको छ । पौडेलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गर्नु भएको थियो ।  नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि गएको माघ १३ गते परमादेश जारी गर्दै सर्वोच्च अदालतले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । त्यो फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो ।

लामिछानेले अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी नेपाली नागरिकता भने लिइसक्नुभएको छ । गएको ६ गते महान्यायाधिवक्ता दीनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गर्नु भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरिएको थियो । तर, त्यो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेपछि आज सुनुवाइ हुन लागिएको हो ।

लामिछानेको सांसद पद गुमेपछि चितवन २ मा आउँदो बैशाख १० गते हुने उपचुनाव हुँदैछ । उपचुनावमा लामिछानेले उम्मेदवारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*