स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउने क्रम सुरु

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार ०७:५८

मकवानपुर ।   त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन थालेको छ ।  केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसङ्घका श्यामराज ओझा निर्वाचित हुनुभएको छ ।

थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका विक्रम शाही तथा पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसङ्घका नवीन श्रेष्ठ विजयी हुनुभएको छ ।काठमाण्डौको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी हुनु भएको छ ।

काठमाण्डौको पिपुल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रञ्जित भण्डारी र नर्सिङ क्याम्पस विराटनगरको स्ववियु सभापतिमा पनि अनेरास्ववियुकै प्रशंसा पौडेल विजयी हुनुभएको छ ।विराटनगरकाे स्नातकोत्तर क्याम्पसकाे स्ववियु सभापतिमा अनेरास्ववियुका निर्मलप्रसाद गजुरेल विजयी हुनुभएकाे छ ।

हिजो त्रिभुवन विश्वविद्यालयका २१२ वटा क्याम्पसमा स्ववियु चुनाव भएको हो । १४ वर्षपछि भएको चुनावमा ६० प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएका छन् ।सबैभन्दा धेरै विद्यार्थी रहेका त्रिचन्द्र बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस मीनभवन, पाटन बहुमुखी क्याम्पस, अमृत साइन्स क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस र  कोटेश्वर बहुमुखी क्याम्पसमा हिजो चुनाव हुन सकेन ।

त्यसैगरी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, दार्चुलाका शङ्खरपुर क्याम्पस र लतिनाथ क्याम्पस, डोटीको डोटी बहुमुखी क्याम्पस तथा आठबीस शिक्षा क्याम्पसमा मतदान स्थगित भएको छ ।बाजुरा क्याम्पसमा पनि विद्यार्थी सङ्गठनबीच झडप हुँदा मतदान प्रक्रिया स्थगित भएको छ । यसअघि नै स्थगित गरिएका १६ वटा क्याम्पसमा आउँदो ८ गते चुनाव हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*