मेरो उम्मेदवारीले देशमा राष्ट्रिय एकताको सन्देश प्रवाह गरेकाे छ : रामचन्द्र पाैडेल

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७९, शनिबार १६:००

मकवानपुर । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्त्वपूर्ण ठानेको बताउनुभएको छ ।

यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै उहाँले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गर्नुभयो ।

पूर्वसभामुख पौडेलले भन्नुभयो, ‘संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, नागरिकले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।’

पूर्वउपप्रधानमन्त्री पौडेलले अर्को प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्त्वपूर्ण ठाउँ भएको दाबी गर्नुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*