माओवादी स्थिर भएर बसिरहेकाे भए देश यहाँ आइपुग्ने थिएन : उपमहासचिव हरिबोल गजुरेल

बकैया दर्पण संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार १७:५०

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहनुभएका उपमहासचिव गजुरेलले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आममानिसले माओवादी केन्द्र अस्थिर भएको भनिरहे पनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गर्नुभयो । उहाँले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरू अघि नबढ्ने दाबी गर्नुभयो ।

उपमहासचिव गजुरेलले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने र बेपत्ताहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड पदका लागि सत्तामा नगएको पनि उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्य कुरा व्यवस्था बदलियो अवस्था बदलिएन । अवस्था बदलिएको भए अर्कै उत्साहको वातावरण हुन्थ्यो । हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री हुन कोसिस गर्नुभयो र उहाँ सफल पनि हुनुभयो । त्यो अरू कुनै कारण होइन, मानिसहरूले कुर्सीका लागि यताउता भन्ने गर्दछन् तर उहाँ कुर्सी छोडेको मान्छे पनि हो । २०६४ को चुनावमा प्रत्यक्षतर्फ १ सय ४० सिट जितेर ठूलो दल हुँदा पनि एउटा प्रकरणमा राजीनामा दिनुभयो, नछोडेको भए नि हुन्थ्यो, कुर्सीप्रति मोह भए किन दिनुपर्दथ्यो, शक्तिशाली थियो । माओवादी कहिले यता कहिले उता भन्ने प्रश्न छ तर यसमा प्रधानमन्त्रीको भनाइ के छ भने– माओवादी स्थिर भएर बसिरहेकाे भए यो देश यहाँ आइपुग्ने थिएन, सेना समायोजन हुने थिएन, शान्ति प्रक्रिया अघि बढ्ने थिएन । त्यस कारण माओवादी अहिलेसम्म यताउता नगरेकाे भए याे सम्भव थिएन, कहिले अघि बढ्ने कहिले पछि हट्ने गरेर जिम्मेवारी गरिरहेको छ ।’

उपमहासचिव गजुरेलले प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*