ओलीले संसद् विघटन ठिक थियाे भनेपछि विकल्प खाेज्याैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल

बकैया दर्पण संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार १७:२७

मकवानपुर । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा संसद् विघटन ठिक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताउनुभएको छ ।

राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन बिहीवार भएको आठ दलका सांसदको संयुक्त भेलामा प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले व्यक्त गर्नुभएकाे विचारले आफूलाई सोच्न बाध्य बनाएको बताउनुभएको हो । अघिल्लो पटक संविधान विपरीत संसद् विघटन भएपछि आफूहरू संविधान र लोकतन्त्रको पक्षमा उभिएको भन्दै उहाँले बीचमा अलिकति अलमलिएको भए पनि अब ठिक ठाउँमा आएको बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘अघिल्लो पटक संविधान विपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद् पुनःसस्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर बीचमा हामी अलिकति अलमलियौँ, अब ठिक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ ।’

यो गठबन्धन लोकतन्त्र र संविधानको हितमा रहेको प्रधानमन्त्री प्रचण्डको जिकिर छ । राष्ट्रिय सहमतिको वातावरण बनाउन गरेको अनुरोध एमाले अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको उहाँको भनाइ छ । राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक र देशको अभिभावक भएको भन्दै उहाँले अहिले संविधानको महत्त्व बुझेर निष्ठावान् नेतालाई उम्मेदवार बनाएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल लगायत गठबन्धन आबद्ध आठै दलका नेताहरूले सम्बोधन गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*