राष्ट्रपति पदमा एमालेबाट सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता

बकैया दर्पण संवाददाता
१३ फाल्गुन २०७९, शनिबार १५:०५

मकवानपुर । नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गर्नुभयो ।

नेम्वाङको प्रस्तावकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरु पृथ्वीसुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएको छ भने समर्थकमा नेताहरु योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहनुभएको छ । आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

इलाम नगरपालिका-७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष हुनुहुन्छ । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उहाँ त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य हुनुभएको थियो । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम-२ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम-२ बाट निर्वाचित हुनुभएको थियो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम-२ बाट लगातार निर्वाचित हुनुभएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति हुनुभएको थियो ।

उहाँ विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष/सभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख हुनुभएको थियो । विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभयो ।

राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय (वरिष्ठ अधिवक्ता) रहनुभएका उहाँले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटकपटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द पर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*