राष्ट्रपति चयनका लागि चुनाव नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच छलफल र भेटघाट बाक्लियो

बकैया दर्पण संवाददाता
९ फाल्गुन २०७९, मंगलवार ०९:२९

मकवानपुर । राष्ट्रपति चयनका लागि चुनाव नजिकिँदै गर्दा शीर्ष नेताहरुबीच छलफल र भेटघाट बाक्लिएको छ । अस्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेपछि नेताहरु सहमति जुटाउन थप सक्रिय बनेका छन् ।

एमाले र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु माधव नेपाललाई वामपन्थी दलका तर्फबाट राष्ट्रपतिको साझा उम्मेदवार बनाएर पार्टी एकता गराउन सक्रिय भएका छन् । एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवारमा सहमति नहुने सम्भावना देखेपछि नेपाललाई अघि सारेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपतिको चयन गर्ने अडान राखेपछि एमालेले नेपालसँग छलफल गरेको हो । नेपाली कांग्रेसले राष्ट्रपति चुनावमा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव अघिकै गठबन्धन ब्युँताउने प्रयास गरिरहेकाले पनि एमाले सशङ्कित भएको छ ।

राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसद्को ठूलो दल कांग्रेसले अझै उम्मेदवार चयन गर्न सकेको छैन । राष्ट्रपतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा छ । माओवादीले हिजो राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको छ ।

निर्वाचन आयोगले आउँदो शनिवार राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता तथा र २५ गते चुनावको कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*