सुदूरपश्चिमको राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिमा प्रकाश विष्ट सर्वसम्मत

बकैया दर्पण संवाददाता
२७ माघ २०७९, शुक्रबार १०:०९

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् । बिहीबार धनगढीमा बसेको रास्वपाको प्रदेश विस्तारित बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

पेशाले इन्जिनियर रहेका विष्टले इमबेडेड सिस्टम्समा स्नातकोत्तर गरेका छन् भने करिब १५ वर्ष भारतमा बसेर हनीवेललगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरका कम्पनीहरुमा आबद्ध भएर प्राविधिक, कम्पनी म्यानेजर र व्यवस्थाप भएर काम गरेको अनुभव उनीसँग छ । सो क्रममा उनले जर्मन र यूएसलगायतका मुलुकमा पनि काम गरिसकेका छन् ।

चार वर्षअघि भारतबाट कैलाली फर्किएर व्यवसाय तथा कृषि उपकरण आविष्कारको क्षेत्रमा काम गरिरहेका छन् । विष्ट सामाजिक रुपान्तरण र न्यायका लागि आफू पनि सक्रिय राजनीतिमा आएको बताउँछन् । बिहीबार नै पार्टीका महामन्त्री मुकुल ढकालबाट पद तथा गोपनीयताको शपथ लिएका विष्टले ४३ सदस्यीय प्रदेश समितिसमेत विस्तार गरेका छन् । पार्टीको प्रदेश महामन्त्रीमा भोजराज जोशी चयन भएका छन् भने उपसभापति र सहमहामन्त्री चयन गर्न बाँकी छ । ४६ सदस्यीय प्रदेश समितिमा ३ जना सदस्य मनोनीत गर्न बाँकी रहेको रास्वपाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*