आज लुम्बिनीमा प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन

बकैया दर्पण संवाददाता
२५ माघ २०७९, बुधबार ०९:०६

मकवानपुर । राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त पदका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुन लागेको हो । निर्वाचन आयोगले मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरेको छ ।

उपनिर्वाचनमा तीनजना उम्मेदवार प्रतिस्पर्धामा छन् । सत्तारुढ दल नेकपा एमालेबाट कुमार दसौदी, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय र नेपाली काँग्रेसका तर्फबाट माधवप्रसाद आचार्य उम्मेदवार हुनुहुन्छ । एमालेका उम्मेदवार दसौदीलाई नागरिक उन्मुक्तिबाहेक सत्तारुढ दलको समर्थन छ । उपनिर्वाचनमा प्रदेश सभा सांसद, पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ छ । कुल मतदाता सङ्ख्या ३ सय ५ जना रहेकामा प्रदेश सांसदको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या २ सय १८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो । तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*