कांग्रेसको विपक्षी गठबन्धन बनाउने तयारी

बकैया दर्पण संवाददाता
२१ माघ २०७९, शनिबार १०:४०

मकवानपुर । गृह मन्त्रालय र राष्ट्रपति चुनावको विषयमा सत्तारुढ दलहरुबीच खटपट भइरहेको बेला नेपाली कांग्रेसले विपक्षी गठबन्धन बनाउने तयारी थालेको छ । यही तयारी अनुसार कांग्रेसले आज एकीकृत समाजवादी, जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्दैछ ।

राष्ट्रिय सभाको उपचुनाव र राष्ट्रिय सभामै उपाध्यक्षको चुनावलगायत समसामयिक विषयमा छलफलको लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ । राष्ट्रिय सभा उपाध्यक्षको लागि भोलि उम्मेदवारी दर्ता र पर्सि २३ गते चुनाव हुने कार्यतालिका छ ।

अस्ति बिहीवार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता साझेदार दल र विपक्षी मोर्चाबीच छलफल गरेर उम्मेदवारी टुङ्गो लगाउने निर्णय गरेको थियो । यस्तै २५ गते लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनाव हुँदैछ । उपचुनावको लागि विपक्षी मोर्चाबाट कांग्रेसले उम्मेदवार खडा गरेको छ । उपचुनावको लागि एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधव प्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका गजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विपक्षी दलहरुबीच आज हुने बैठकमा राष्ट्रिय सभाको उपचुनावको तयारी र राष्ट्रिय सभा उपाध्यक्षमा पनि साझा उम्मेदवारको विषयमा कुरा हुने कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि भएको सभामुख र उपसभामुख चुनावमा कांग्रेस, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा एक ठाउँ थिए । विपक्षी मोर्चालाई राष्ट्रपतिको चुनावसम्म लैजाने र राजनीतिक परिस्थिति हेरेर राष्ट्रपतिमा उम्मेदवार अगाडि सार्ने कांग्रेसको रणनीति छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*