मलेसियाका गृहमन्त्रीसँग नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोध

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १९:५७

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली श्रमिकको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्ने कुरामा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग अनुरोध गर्नुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीसँग शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली श्रमिकको हितका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

‘मलेसिया सरकारले नेपाली श्रमिकहरूलाई प्रदान गर्दै आएको वातावरणका लागि सरकारका तर्फबाट धन्यवाद दिन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘यदि यो विषयमा केही समस्या भएमा कानुनी तथा संस्थागत सुधार गर्दै मलेसिया सरकारले नेपाली श्रमिकहरूको हित, कल्याण र सुरक्षालाई सुनिश्चित गर्नेछ भन्ने विश्वास लिएका छौँ, हामी मलेसिया सरकारसँग सहकार्य गर्न हामी सदैव तत्पर छौँ ।’

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मलेसिया सरकारका तर्फबाट श्रमिकहरूको न्यूनतम पारिश्रमिक १२ सय रिगिंटबाट बढाएर १५ सय बनाएकोमा धन्यवादसमेत दिनुभएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार फ्री भिसा र फ्री टिकेटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यसो गर्न सकेमा रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिकहरू इमानदारिता र परिश्रमीका रूपमा सुपरिचित भएको उल्लेख गर्दै भविष्यमा नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले राख्नुभएको चासोप्रति मलेसियाका गृहमन्त्री नासुसनले मलेसिया सरकारले विदेशी श्रमिकहरूलाई भित्राउने प्रक्रिया र मलेसियामा रहँदा श्रमिक कल्याण र सुरक्षाका विषयमा गम्भीर रहेको बताउनुभयो । उहाँले मलेसियाको पाँच वटा आर्थिक क्षेत्रमा श्रमिकको आवश्यकता रहेको जानकारी दिनुहुँदै श्रमिकको कल्याणका लागि नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाली श्रमिकहरूको प्रशंसा गर्दै श्रमिकलाई सहज हुने गरी अन्य नीतिगत सुधारका लागि समेत मलेसियाले गृहकार्य गर्ने बताउनुभएको प्रधानमन्त्री प्रचण्ड सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले मलेसियामा नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मलेसिया जाने श्रमिकहरूको सीप, ज्ञान र क्षमता अभिवृद्धि गर्न तथा मलेसियाबाट सिकेको व्यावसायिक ज्ञान र दक्षतालाई नेपालमा उपयोग गर्ने वातावरण बनाउनका लागिसमेत दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*