आज अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपाल आउँदै

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार ०८:२४

मकवानपुर । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै हुनुहुन्छ । नुल्यान्ड नेपालमा आज र भोलि गरी दुई दिन रहनुहुनेछ । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो भ्रमणका क्रममा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल गर्ने तयारी छ । नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर उहाँको भ्रमण तालिका र कार्यसूचीका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन ।

नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उहाँले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नुहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम छ । अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत अवलोकन गर्नुहुनेछ । साथै भोलि दिउँसो पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो भ्रमणबारे जानकारी दिनुहुने पनि दूतावासले जनाएको छ । नुल्यान्ड सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

नेपालमा एमसीसी कार्यान्वयन पक्षबारे अमेरिकाको मुख्य चासो र प्राथमिकतामा रहेको छ । झन्डै ६० अर्ब रुपैयाँ बराबरको एमसीसी अनुदान नेपालले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो वैदेशिक सहयोग हो । लामो विवादपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*