बागमतीका यातायात मन्त्री एकालाल श्रेष्ठ : जननिर्वाचित भएको पहिलो पटकमै मन्त्री

बकैया दर्पण संवाददाता
१३ माघ २०७९, शुक्रबार ११:३७

मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनु भएका एकालाल श्रेष्ठ नेकपा एमालेको विद्यार्थी राजनीतिदेखि मन्त्रीसम्म बन्न सफल हुनु भएको छ । बागमती प्रदेशमा शालिकराम जम्मकट्टेलको नेतृत्वमा बनेको सरकारमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।

हेटौंडा स्थायी घर भएका श्रेष्ठले मकवानपुरमा बिद्यालय तहबाट राजनीति सुरु गरेर मन्त्रीसम्म बन्नु भएको हो । नेकपा एमाले मकवानपुरका अध्यक्षसमेत रहनु भएका श्रेष्ठ जिल्लाको क्षेत्र नम्बर १ (ख) बाट चुनावमा विजयी हुनु भएको थियो । पहिलो पटक जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुभएका उहाँ पहिलो पटककै मन्त्री हुन सफल हुनुभएको हो । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा प्रदेशसभा तर्फबाट उम्मेदवार बन्नु भएका श्रेष्ठले नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गर्दै सांसदमा विजयी हुनुभएको थियो ।

हेटौंडा उपमहानगरपालिका १ चौकिटोलमा २०२७ साल साउन १७ गते जन्मनु भएका श्रेष्ठ बुबा भिमलाल श्रेष्ठ र आमा चन्द्र कुमारी श्रेष्ठका छोरा हुनुहुन्छ । हेटौंडाको शिद्धार्थ माविमा पढदै गर्दा ०४४ सालबाट नै अनेरास्ववियुबाट बिद्यार्थी राजनीति सुरु गर्नुभएको हो । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०५२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष बन्नुभयो ।

२०४६ सालको आन्दोलनमा बिद्यार्थीको नेतृत्व गर्दै आन्दोलनमा होमिदा एक महिना जेलसमेत पर्नुभयो । अनेरास्ववियुको अध्यक्षको हुदै दुई कार्यकाल केन्द्रीय सदस्य, सचिवालय सदस्य, मध्यमाञ्चल प्रमुखसमेत भएर २०५२ देखि २०५७ सम्म काम गर्नुभयो । २०४८ सालमा एमालेको पार्टी सदस्यता प्राप्त गर्नु भएका एकालाल श्रेष्ठ हेटौंडा वडा नम्बर १ को पहिलो पार्टी सदस्य बन्नु भएको थियो । उहाँ २०४९ साल हेटौंडा १ वडा पार्टी कमिटीको पहिलो अध्यक्ष समेत बन्नुभयो ।

२०५० सालमा नगर कमिटीको सदस्य हुदै उपसचिव भएर नेतृत्व गर्नुभएका उहाँ २०६१ सालमा एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य हुनुभएको थियो । २०६२–०६३ को आन्दोलनमा सक्रिय रुपमा सहभागी हुँदै बिभिन्न स्थानको आन्दोलनको नेतृत्व गरेको र आन्दोलनको नेतृत्व गर्दा उहाँ पटक–पटक प्रहरीद्वारा पक्राउमा समेत पुर्नभएको थियो ।

२०७२ सालमा एमाले मकवानपुरको सचिव हुँदै २०७७ साल पुसमा पार्टीको जिल्ला संयोजक र २०७८ साल पुसमा जिल्ला अधिवेशनबाट एमाले मकवानपुरको अध्यक्षका रुपमा काम गर्दै आउनु भएको छ । उहाँ पार्टीमा मात्र नभएर संघसंस्थामासमेत आवद्ध हुनुहुन्छ । नेपाल बुद्धीचाल संघमा महासचिब हुँदै केन्द्रीय अध्यक्षका रुपमा काम गरेको अनुभव र खेलकुद क्षेत्रमा रास्ट्रिय अगुवाइ गर्नुभएको छ । अहिले एसियन चेस महासङ्घको सल्लाहकार हुनुहुन्छ ।

मकवानपुर जिल्ला निर्माण ब्यवसायिक संघको महासचिव भएर काम गरेको अनुभव पनि छ । मकवानपुर उद्योग बाणिज्य संघको सल्लाहकार भएर अगुवाइ गरेको, नमूना प्रगति सहकारीको उपाध्यक्ष रहेर काम गर्दै सहकारी अभियानमा जोडिएको अनुभव पनि छ । सामुदायिक बन उपभोक्ता समुहको अगुवाई गरेको अनुभव पनि उहाँसंग छ । चौकिटोलमा नवज्योति पुस्तकालय स्थापना र सञ्चालनदेखि बिदेश भ्रमणको अनुभवमा श्रीलंका, नर्बे, अजरबैजान, जर्जिया, युएइ, बंगलादेश र भारतको भ्रमण गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*