अल नसरमा रोनाल्डो अनुबन्धित

बकैया दर्पण संवाददाता
१६ पुष २०७९, शनिबार १४:३९

एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् ।

अल नसरले सामाजिक संजालबाट रोनाल्डो अनुबन्ध गरिएको जनाएको छ । रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । रोनाल्डो २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् । रोनाल्डोले फरक राष्ट्रको फुटबल लिगको अनुभव गर्न साउदीको क्लबमा आबद्द भएको बताएका छन् ।

अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ । नसरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । ३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए ।रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए । तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन् । पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए ।

यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए। रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । युभेन्ट्सबाट उनी पुन: ओल्ड ट्राफोर्ड आएका थिए । तर, यस पटक उनको बसाई सुखद रहेन । रोनाल्डोले दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*