मकवानपुरमा कराँतेको धमाका : हात्तिसुडे डोजो १४ स्वर्णसहित च्याम्पियन
मकवानपुर – मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो खेलकुद तथा व्यापार मेलाको अवसरमा जिल्ला स्तरीय कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

चैत २ र ३ गते आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाभरका १० वटा कराँते डोजोहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलबीच हात्तिसुडे डोजोले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण पदक जितेर प्रतियोगिताको उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भएको छ।
त्यसैगरी, सिमात डोजोले ३ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने हेटौंडा डोजोले २ स्वर्ण पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ।

प्रतियोगितामा विजेता डोजोहरूलाई नगदसहित सम्मान गरिएको छ। प्रथम हुने हात्तिसुडे डोजोले ३० हजार रुपैयाँ, दोस्रो हुने सिमात डोजोले २० हजार रुपैयाँ र तेस्रो हुने हेटौंडा डोजोले १० हजार रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
सिमात डोजोका गुरु दिर्घ लामाले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै कराँते खेलप्रति युवाहरूको आकर्षण बढाएको बताए। उनले यस्ता प्रतियोगिताले खेलकुद विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
स्थानीय स्तरमै आयोजना भएका यस्ता प्रतियोगिताले खेलकुद संस्कृतिलाई मजबुत बनाउने र नयाँ प्रतिभा उजागर गर्नेमा आयोजकहरू आशावादी छन्।
