बकैया गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न
बकैया,मकवानपुर । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेल” भन्ने नाराका साथ बकैया गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८२ सम्पन्न भएको छ । प्रतियोगिताको व्यवस्थापन कर्मप्राप्ती माध्यमिक विद्यालयले गरेको थियो भने संरक्षक बकैया गाउँपालिका हात्तिसुडे तथा आयोजक बकैया खेलकुद विकास समिति रहेको थियो ।
माघ १९ गतेदेखि माघ २० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबडी र कराते विधाका खेलहरू समावेश गरिएको थियो ।

समापन कार्यक्रममा बकैया गाउँपालिका वडा नं ५ की अध्यक्ष लक्ष्मी जिम्बा, वडा नं ७ का अध्यक्ष मान बहादुर सिङतान, बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङ, कर्मप्राप्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद दाहाल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागी विद्यालयहरूमध्ये १६ स्वर्ण पदक सहित बुद्ध माध्यमिक विद्यालय, बकैया–३ हात्तिसुडे प्रथम, १४ स्वर्ण पदक सहित जनक माध्यमिक विद्यालय द्वितीय तथा ६ स्वर्ण पदक सहित कर्मप्राप्ती माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
क्रमशः प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूले नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेका छन् ।
यस वर्षको उत्कृष्ट खेलाडी छात्रतर्फ जनक माध्यमिक विद्यालयका सम्भव माझी तथा छात्रातर्फ बुद्ध माध्यमिक विद्यालयकी दुर्गा प्रजा घोषित भएका छन् ।
