बकैया–५ खेलकुद विकास समितिद्वारा पुरुष तथा महिला खेलाडी सम्मान
मकवानपुर,बकैया – मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ खेलकुद विकास समितिले वडाका पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरेको छ। समितिले बकैया कपमा २०७७ र २०८० सालमा दुईपटक विजेता बनेको तथा ‘२ स्टार’ उपाधि प्राप्त गरेको वडा नं. ५ का खेलाडीहरुको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरेको हो।
यस वर्ष भने वडा नं. ५ को पुरुष टिम सेमिफाइनलसम्मको यात्रा गर्न सफल भएको थियो। यद्यपि, सातौं संस्करणबाट सुरु गरिएको महिला फुटबल प्रतियोगितामा वडा नं. ५ को महिला टिमले पहिलो वर्षमै उपविजेता बन्न सफल भई उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
खेलाडीहरुको हौसला अभिवृद्धि गर्ने उद्देश्यले सम्मान स्वरुप ट्र्याकसुट र प्रमाणपत्र वितरण गरिएको वडा नं. ५ खेलकुद विकास समितिका संयोजक बिनोद वाइबाले जानकारी दिनुभयो।
सम्मान कार्यक्रममा वडा नं. ५ का अध्यक्ष लक्ष्मी जिम्बा तामाङ, वडा सदस्य अमृत थिङ, सोम बहादुर माझी, ज्ञानु माया सुनुवार, वडा सचिव सुमन थापा, सहायक सचिव देवराज लामिछने वडाका कर्मचारी बच्चुराम राई, सरितामाया दोङ, लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत स्थानीय खेलकुद विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
