बागमती–१ मा दोस्रो वडा अध्यक्ष टोल स्तरीय फुटबल सुरु, उद्घाटन खेलमा रामपुर युवा टिम ट्राइब्रेकरबाट विजयी
मकवानपुर,बागमती – बागमती गाउँपालिका वडा नं.–१ माझगाउँको आयोजनामा दोस्रो वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिता विधिवत रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा नोआ एफसी (Noah FC) र रामपुर युवा टिमबीच कडा प्रतिस्पर्धा भएको थियो।

निर्धारित समयको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफमा झन् रोमाञ्चक बनेको थियो। दोस्रो हाफको ३७औँ मिनेटमा रामपुर युवा टिमका जर्सी नं. १४ का कुमार बिष्टले उत्कृष्ट गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। खेलको निर्धारित समय सकिएपछि थप समयमा नोआ एफसीले पेनाल्टीको अवसर पाउँदै बराबरी गोल फर्कायो र खेल १–१ को अवस्थामा पुग्यो।
थप समयसम्म पनि बराबरी कायम रहेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा ५–४ गोल अन्तरले रामपुर युवा टिमले रोमाञ्चक जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको सभाअध्यक्षता वडा नं.–१ का कार्यवाहक वडा अध्यक्ष हस्त बहादुर थिङले गर्नुभएको थियो।
फागुन १ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विजेता टिमले ६० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
