बकैया वडा नं. ३ ले बकैया कप च्याम्पियन खेलाडीहरुलाई गर्यो सम्मान, चार पटकको उपाधिसहित ‘४ स्टार’ प्राप्त
बकैया,मकवानपुर – बकैया गाउँपालिका वडा नं. ३ खेलकुद विकास समितिले बकैया कप २०८२ को उपाधि जित्दै च्याम्पियन बनेको बकैया वडा नं. ३ टिमका खेलाडीहरुलाई सम्मान गरेको छ। सम्मान कार्यक्रम वडा नं. ३ कै आयोजनामा भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा बकैया गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष भुमल सिङ घलान, बकैया खेलकुद विकास समितिका संयोजक विजयलामा थिङ, वडा नं. ३ खेलकुद समितिका संयोजक कृष्ण लामा लो वडा नं ४ का खेलकुद बिकास समितिका संयोजक श्याम दाहाल लगायतको उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले खेलकुदले युवालाई अनुशासित, ऊर्जाशील र सकारात्मक दिशातर्फ अग्रसर गराउने उल्लेख गर्दै बकैया वडा नं. ३ टिमले निरन्तरता, मेहनत र टिमवर्कका माध्यमबाट ऐतिहासिक उपलब्धि हासिल गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे।
यस वर्षको बकैया कप उपाधिसँगै बकैया वडा नं. ३ टिमले चौथो पटक उपाधि जित्दै ‘४ स्टार’ प्राप्त गर्न सफल भएको छ। यसअघि टिमले २०७७, २०७९, २०८१ र २०८२ सालमा उपाधि जितेको थियो।
कार्यक्रमको अन्त्यमा खेलाडीहरूलाई सम्मान पत्र तथा माला लगाई सम्मान गरिएको थियो। आयोजक समितिले आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
