ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

बकैया दर्पण संवाददाता
२४ मंसिर २०७९, शनिबार ०६:५९

एजेन्सी । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो ।

एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । तर, पेनाल्टीमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिच नायक बने ।

ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके । रोड्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिचले बचाएका थिए भने मार्क्विन्होसको प्रहार पोस्टमा लागेको बाहिरिएको थियो ।

त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । उनले पाक्वेटाको पासमा १०५+१ औं मिनेटमा गोल गरेका थिए । यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो । पेलेले पनि ७७ गोल गरेका छन् । तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

पेनाल्टीमा चुकेसँगै पाँच पटकको च्याम्पियन ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । क्रोएसियाले भने सेमिफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*