जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

बकैया दर्पण संवाददाता
२० मंसिर २०७९, मंगलवार ०७:१२

एजेन्सी । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्यो । क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके । जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए । पेनाल्टीमा जानु अघि खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो ।

खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् । तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो । खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा हेडमार्फत उत्कृष्ट गोल गरे । यस जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियाले अब ब्राजिलसँग क्वाटरफाइनलमा खेल्नेछ । यता, जापान भने पुन: राउण्ड अफ १६ बाट बाहिरिएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*