ब्रुनोको गोलमा पोर्चुगल नकआउट चरणमा

बकैया दर्पण संवाददाता
१३ मंसिर २०७९, मंगलवार १२:४२

एजेन्सी । पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ ।

लुसाईल स्टेडियममा सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो । कतार विश्वकपको नकआउट चरणमा पुग्ने पोर्चुगल तेस्रो टोली हो । पोर्चुगललाई जित दिलाउन दुबै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ५४ औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० को जित दिलाए । उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो । जसमा ब्रुनोले सहजै गोल गरे ।

यस जितसँगै पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ । पोर्चुगल शीर्ष स्थानमा रहेको छ । उरुग्वे १ अंक जोडेर पुछारमा रहेको छ । यस हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*