वेल्स इरानसँग स्तब्ध

बकैया दर्पण संवाददाता
१० मंसिर २०७९, शनिबार ११:०१

एजेन्सी । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो। यससँगै इरानले वेल्सलाई पहिलो पटक पराजित गरेको छ । इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे । अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो । खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २-० को रोमान्चक जित दिलाए । त्यसअघि इरानका अलीले १६ औं मिनेटमा गोल गरेपनि मान्यता पाएन । भीएआरले उनलाई अफसाइड देखाएको थियो । दोस्रो हाफमा इरानको दुई प्रहार पोस्टमा लाग्दै फर्किएको थियो । यस्तै खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो । इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । वेल्सले पनि खेलमा गोलको केहि उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर , सफल भएन् ।

यस जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘बी’ मा इरान दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इरान इंग्ल्यान्डसँग ६-२ ले पराजित भएको थियो । वेल्सले २ खेलमा १ अंक जोडेको छ । वेल्स पुछारमा रहेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*