रोनाल्डोले छाडे युनाईटेड

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १०:१५

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेका छन् ।

युनाईटेडले मंगलबार राति एक विज्ञप्ति निकाल्दै रोनाल्डोले तत्कालबाट लागु हुने गरि क्लब छाडेको जनाएको छ । फिफा विश्वकप फुटबलका लागि कतारमा रहेका रोनाल्डोले आपसी सहमतिमा सम्झौता रद्द गर्दै क्लब छाडेको युनाईटेडले जनाएको छ । क्लबले रोनाल्डोलाई धन्यवाद समेत दिएको छ । रोनाल्डोले समेत एक विज्ञप्ति निकाल्दै सहमतिमा क्लब छाडेको बताएका छन् । उनले आफु युनाईटेड र क्लबका समर्थकलाई माया गर्ने बताउँदै सफलताको लागि शुभकामना समेत दिएका छन् ।

पोर्चुगिज कप्तान रोनाल्डोले सम्झौता नसकिदै क्लब छाडेका हुन् । ३७ वर्षीय रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए । तर, पछिल्लो समय मुख्य प्रशिक्षक एरिक टेन हागसँगको सम्बन्धको कारण उनी विवादमा तानिएका थिए । एक टेलिभिजन अन्तर्वार्तामा रोनाल्डोले आफूलाई क्लबले धोका दिएको र म्यानेजर एरिकप्रति आफूलाई कुनै सम्मान नभएको बताएपछि उनी विवादमा तानिएका थिए ।

पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए । यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए । रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।

रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । युभेन्ट्सबाट उनी पुन: ओल्ड ट्राफोर्ड आएका थिए । तर, यस पटक उनको बसाई सुखद रहेन । रोनाल्डोले दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*