पहिलो खेलमै साउदीसँग हार्यो अर्जेन्टिना

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १०:०४

एजेन्सी । उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।

लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो । जसमा मेस्सीले सहजै गोल गरे । पेनाल्टी गोलसँगै मेस्सी चार फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने ।

खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ । साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ । यस हारसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । यस्तै अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो । सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिना क्यामरुनसँग पहिलो खेलमा पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*