सेनेगललाई हराउँदै नेदरल्यान्ड्सको विजयी सुरुआत

बकैया दर्पण संवाददाता
६ मंसिर २०७९, मंगलवार ११:१४

एजेन्सी । नेदरल्यान्ड्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुबै गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

गाक्पोले विश्वकपको डेब्यु खेलमा गोल गरेका हुन् । त्यसपछि खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए । यस जितसँगै नेदरल्यान्ड्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।

समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । सेनेगलले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । सेनेगल तेस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*